नेपाली राजनीतिका शिखर पुरुष एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाली जनता र राष्ट्रका लागि पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई राज्यले उच्च मूल्याङ्कन र सम्मान गर्दै उहाँको स्मृतिमा जी.पी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको स्थापना भएको हो । स्व. गिरिजाप्रसाद कोइरालाको २०६६ चैत ७ गतेका दिन श्वासप्रश्वाससम्बन्धी रोगले निधन भएकाले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले मिति २०६७-१-५ को मन्त्रीपरिषद्को निर्णयबमोजिम १०० शैय्याको जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्थापना गर्ने निर्णय गरेको थियो ।
नेपालमा मुटु, मृगौला, आँखा क्यान्सरलगायत अन्य रोगको उपचार का निम्ति विशेष सेवा सहितको अस्पताल स्थापना भए तापनि श्वास –प्रश्वाससम्बन्धी रोगको विशेष सेवासहितको अस्पताल स्थापना भएको थिएन । सोही आवश्यकतालाई पूरा गर्न डा. जगदीशचन्द्र अग्रवालको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरियो । कार्यदलले एक वर्षको समयावधि पाएको थियो । कार्यदलले नेपालमा श्वास– प्रश्वाससम्बन्धी रोगको स्थिति भयावह देखिएकाले तत्काल अस्पताल स्थापना गर्न आवश्यक भएको प्रतिवेदन मन्त्रालयमा बुझायो । समितिको प्रतिवेदनपछि डा. लक्ष्मीराज पाठकको नेतृत्वमा कार्यदलको गठन भयो । समितिलाई ठाउँ छनोट र कार्यालय व्यवस्थापन गरी केन्द्र निमार्णको प्रक्रिया अघि बढाउने जिम्मेवारी सुम्पियो । एक वर्षको कार्यकालमा उक्त कार्यदलले केही काम अघि बढायो ।
तत्पश्चात् नेपाल सरकार, स्वास्थ्य मन्त्रालयबाट डा. करवीरनाथ योगीलाई अध्यक्ष तोकेर अस्पताल सञ्चालक समितिको गठन गरी काम अघि बढायो ।
हाल तनहुँको दुलेगौडामा यस केन्द्रको स्वामित्वमा ७४० रोपनी जग्गा रहेको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मिति २०७० असार २४ गते जारी जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार विकास समिति (गठन) आदेश, २०७० अन्तर्गत रही कार्य सञ्चालन भई आएको छ ।
तत्कालीन सेती गङ्गा सामुदायिक अस्पताल यस केन्द्रलाई हस्तान्तरण गर्ने मन्त्रीपरिषद्को निर्णय (२०७३÷१÷३०) भई उक्त अस्पताल यस केन्द्रमा हस्तान्तरण भएको हो ।
२०७३ साउन १ गतेदेखि यस केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गर्न सुरु भएको हो ।
हाल स्थानीय आवश्यकताको लागि जनरल अस्पतालको रुपमा सेवा संचालन भइरहेको छ ।